वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पारु - १
(१) शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भई पदस्थापनाका लागि पठाइएका नवप्रवेशी शिक्षकहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विकास गरिएको तालिम पाठ्यक्रममा आधारित भई एक महिना (३० कार्यदिन) को सेवा प्रवेश तालिम सञ्चालन गरिने छ ।
(२) एक महिने सेवा प्रवेश तालिमको १५ दिन अवधि आमनेसामने (Face to Face) वा अनलाइन (Online) वा मिश्रित (Blended) विधिबाट र बाँकी १५ दिन अवधि विद्यालयमा आधारित हुने छ । यससम्बन्धी विस्तृत क्रियाकलापहरू सेवाप्रवेश तालिम पाठ्यक्रममा समावेश हुने छ ।
(३) नवप्रवेशी शिक्षकहरूलाई पेसागत जिम्मेवारी, दायित्व र भूमिकाप्रति सचेत गराई शिक्षण पेसाप्रति नवीन र सकारात्मक सोच विकास गर्ने, सिकाइ सहजीकरण सिप विकास गर्ने, अपाङ्गता भएका र विभिन्न सिकाइ आवश्यकता भएका बालबालिकाको विकास तथा सिकाइमा सहजीकरण गर्ने सिप विकासको महत्त्वपूर्ण आधारको रूपमा यस तालिमलाई लिइने छ ।
(४) सेवा प्रवेश तालिम प्रदेश शिक्षा तालिम केन्द्रबाट प्रदान गरिने छ । सहभागी सङ्ख्या र संस्थागत क्षमताको आधारमा शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहबाट समेत यो तालिम सञ्चालन गर्न सकिने छ । तालिमको अभिलेख व्यवस्थापन र प्रमाणीकरण गर्ने काम शिक्षा तालिम केन्द्रबाट हुने छ ।
(५) प्रत्येक नवप्रवेशी शिक्षकलाई यो तालिम प्रदान गरिने छ ।