हाम्रो मिशन

हाम्रो मिसन

शिक्षा नै विकासको मूल आधार भएकाले राष्ट्रिय विकासका लागि आवश्यक पर्ने मानव संसाधन विकास गरी सामाजिक तथा आर्थिक विकासलाई समानुपातिक रुपमा अगाडी बढाउन शैक्षिक योजना र शिक्षामा गरिने लगानीले महत्वपूर्ण भूमिका खेल्दछ । शिक्षित जनशक्तिले मात्रै गरिबी निवारणमा सशक्त भूमिका खेल्ने हुँदा गरिवी निवारणका लागि विद्यालयीय शिक्षा पूर्वाधारको रुपमा रहेको हुन्छ । जसका लागि राष्ट्रिय बजेटको ठुलो हिस्सा शिक्षामा लगानी हुँदै आएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिले कम्तिमा आधारभूत शिक्षा मानव अधिकारको अभिन्न अंगका रूपमा स्वीकार गरेको छ भने बाल अधिकारसम्बन्धी अभिसन्धिले शिक्षा आर्जन गर्न पाउनु बालबालिकाको अधिकार भएको कुरा उल्लेख गरेको छ । नेपालको संविधान बमोजिम सबै बालबालिकालाई गुणस्तरीय, निःशुल्क र अनिवार्य आधारभूत शिक्षाको सुनिश्चित गर्ने कुरा उल्लेख गरेको छ । सवैका लागि विद्यालय शिक्षाको समतामूलक पँहुचको सर्बसुलभता र गुणस्तर सुधार राष्ट्रिय सरोकारको प्रमुख विषय बनेको छ । यसै तथ्यलाई मध्यनजर गरी विद्यालय क्षेत्र सुधार योजनाको समाप्ती पछि सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना सन् २००१-२०१५ को लक्ष्य हासिल गर्ने निरन्तरताको रुपमा आ.व. २०७३/०७४ देखि २०७९/०८० सम्म विद्यालय क्षेत्र विकास योजना राष्ट्रव्यापी रुपमा कार्यान्वयनमा आइसकेको छ । शिक्षकहरुको पेशागत विकासलाई निरन्तरता प्रदान गरी समग्र शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक पेशागत प्रमाणिकरण तालिम संचालनका लागि यस शिक्षा तालिम केन्द्रद्वारा शिक्षकहरुको पेशागत विकास तालिम संचानल हुँदै आइरहेको छ। सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा रहेको यस शिक्षा तालिम केन्द्र, कोशी प्रदेश, इनरुवा सुनसरीको स्थापना तत्कालिन शैक्षिक जनशक्ति विकास केन्द्रसंग सम्बन्धित रहेको छ । विद्यालयमा कार्यरत शिक्षक एवम् शिक्षा मन्त्रालय अन्तर्गत व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकास एवम् अनुसन्धान समेत गर्ने राष्ट्रिय निकायका रूपमा २०५० सालमा शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना भएको थियो । उक्त केन्द्रको स्थापनासँगै केन्द्रको मातहतमा रहने गरी तालिम अप्राप्त शिक्षकहरूलाई १० महिने सेवाकालीन तालिम दिने उद्देश्यले एकभन्दा बढी जिल्लालाई समेट्नेगरी विभिन्न भौगोलिक क्षेत्रमा आवासीय तालिम केन्द्र सञ्चालन गर्ने नीति अनुरूप भोजपुर, सुनसरी, धनुषा, काभ्रेपलाञ्चोक, वारा, तनहुँ, रूपन्देही, सुर्खेत र डोटी गरी ९ स्थानमा आवासीय प्राथमिक शिक्षक तालिम केन्द्रहरूको स्थापना भएको थियो । त्यस अवधिमा प्राथमिक शिक्षकलाई दूर शिक्षाका माध्यमबाट सेवाकालीन तालिम दिन अर्को अलग्गै निकायको रूपमा दूर शिक्षा केन्द्रको स्थापना गरिएको थियो भने निम्न माध्यमिक र माध्यमिक शिक्षकहरूलाई तालिम दिन केन्द्रमा माध्यमिक शिक्षा विकास केन्द्र र सो अन्तर्गत विभिन्न जिल्लामा २५ ओटा माध्यमिक शिक्षा विकास इकाईहरू रहेका थिए । तहगत रूपमा शिक्षकहरूको तालिम सञ्चालन गर्ने भिन्न भिन्न निकायहरूलाई एकीकृत गरी शिक्षक तालिमलाई एउटै निकायबाट सञ्चालन गर्ने नीतिगत व्यवस्था अनुरूप वि.सं. २०६१ सालमा तत्कालीन माध्यमिक शिक्षा विकास परियोजना र दूर शिक्षा केन्द्रलाई समेत एकीकृत गरी शैक्षिक जनशक्ति विकास केन्द्रमा रूपान्तरण गरियो । यसरी संस्थागत पुनसंरचना गर्दा तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्रअन्तर्गत देशका विभिन्न ९ स्थानमा सञ्चालित प्राथमिक शिक्षक तालिम केन्द्रलाई शैक्षिक तालिम केन्द्र (क) भनेर नामाकरण गरियो। तत्कालीन माध्यमिक शिक्षा विकास केन्द्र अन्तर्गत रहेका २५ ओटा माध्यमिक शिक्षा विकास इकाईहरूमध्ये शैक्षिक तालिम केन्द्र (क) नभएका जिल्लाहरूका इकाइलाई शैक्षिक तालिम केन्द्र (ख) भनेर नामाकरण गरियो। तर धनुषा, काभ्रेपलाञ्चोक, रूपन्देही, सुर्खेत र डोटी जिल्लामा शैक्षिक तालिम केन्द्र (क) समेत अवस्थित भएका हुनाले ती जिल्लामा रहेका ५ ओटा माध्यमिक शिक्षा विकास इकाइलाई शैक्षिक तालिम उपकेन्द्रको रूपमा नामाकरण गरिएको थियो । यसरी देशका विभिन्न ९ स्थानहरु भोजपुर, सुनसरी, धनुषा,  काभ्रेपलाञ्चोक,  वारा,  तनहुँ,  रूपन्देही,  सुर्खेत र डोटी गरी आवासीय प्राथमिक शिक्षक तालिम केन्द्रको नामवाट स्थापना भएको यो शिक्षा तालिम केन्द्र, इनरुवा सुनसरी २०५३ सालमा सुनसरी जिल्लाको दुहवीमा भाडाको घरमा कार्यालय बसी तालिम कार्यक्रमहरु श्री सरस्वती मावि दुहवीमा सञ्चालन गर्ने गरिएको थियो । त्यसपछी २०५७ सालमा सुनसरी जिल्लाको इनरुवा स्थित बविया भन्ने ठाँउमा यो तालिम केन्द्रको आफ्नै भवन निर्माण भए पछि इनरुवामा सरी हाल सम्म यही स्थानमा रहेको छ । वि.सं. २०६१ सालमा यसको नाम शैक्षिक तालिम केन्द्र  भनी नामाकरण भएकोमा राज्य संघीयतामा प्रवेश गरेर कार्यालयहरुको समायोजनको क्रममा पुनः शिक्षा तालिम केन्द्र नामाकरण भई हाल कोशी प्रदेश अन्तर्गत तालिम केन्द्रको रुपमा रहेको छ । हाल आएर साविकको ५ वटा शैक्षिक तालिम केन्द्रहरु इलाम, झापा, मोरङ्ग, भोजपुर र खोटाङ्ग समेतयसै तालिम केन्द्र अन्तर्गतको कार्य क्षेत्र भित्र पर्दछन् । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुर गरी १४ जिल्ला हाल यसको सेवा क्षेत्र भित्र पर्दछन ।वर्तमान संरचना भित्र रहेर शिक्षा तालिम केन्द्रले देहायका कार्यहरु सम्पादन गर्दै आइरहेको छ :- शिक्षक पेशागत विकास प्रमाणीकरण तालिम (१५ दिन +१५ दिन  दुई चरण), कष्टमाइज्ड/ पुनर्ताजगी तालिम,  प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम, प्राविधिक धारका सहजकर्ताहरूको क्षमता विकास तालिम, बाल विकास शिक्षक तालिम, विद्यालयका खेल शिक्षकहरूका लागि आधारभूत खेल शिक्षक तालिम, नवप्रवेशी शिक्षकहरूंका लागि अनलाइन सेवा प्रवेश तालिम, शिक्षक मेन्टरिङका कार्यक्रमहरू, प्राविधिक सहायकहरूको शैक्षिक व्यवस्थापन तालिम, प्रशिक्षक प्रशिक्षणका लागि शिक्षकहरूको छनौट र रोष्टर प्रशिक्षक तयारी, शिक्षक पेशागत विकास तालिम मूल्यांकन, नतिजा प्रकाशन र प्रमाणीकरण र प्रमाणपत्र प्रदान, अभिलेखको आधारमा विगतका तालिमको प्रमाणपत्र प्रदान, करिअर बुथ सञ्‍चालन, मन्त्रालयले तोके बमोजिम अन्य कार्यहरू ।